यो कविता त मैले चोरेकै हो

– सपथ थपलिया

हो,
यो कविता त मैले चोरेकै हो।

सेक्सपियरका सिमिली, बालकृष्णका बिम्ब
माधबको मधुरता र चर्चिलको चिसोपन
सब पाउनु हुनेछ यो कवितामा तपाईं।

तर मलाई ग्लानी छैन, न त कुनै तडप
किनकि,
यहाँ चोरी नभएको ठाउँ छैन कतै
चोरी नगरेको कविता छैन कुनै।

ढुङ्गा चोरेर मुर्ती बनाइन्छ
सास चोरेर धुन बनाइन्छ
त्यो सँगसँगै,
गोली चोरी रगत बनाइन्छ
अमृत चोरी विष बनाइन्छ।

दैलेखको सानो दैलो भित्र लुकेकी
दिलमायाको दुलाहा चोरेछ दोहाले,
काजीको भित्ताको कमिज चोरेछ
कम्पनीको कस्टमाइज्ड कपडाले।
जून चढ्ने सपना देख्ने जुन आँखा थिए,
तिनको ज्योती चोर्यो ज्यानमारा न्यायको जन्जालले।
यहाँ त
सन्तनारणको सन्तान, धनबहादरुको धन,
पवित्राको पवित्रता सब चोरिएछ।
कान्तिपुरको कान्ती, मल्लका मुर्ती, भक्तपुरका भेष
शिवको शिवत्व, बुद्धको बुद्धत्व, यसुको इमान
सबै नै चोरिएछ।

तर मेरो चोरी सकिएको छैन,
हिमालको हिम्मत, पहाडको पौरख
र, तराईको ताजपन चोरेर बनाउनेछु
एक कटेरो, जुन पोत्ने छु कमेरोले
र, चिर्बर-चिर्बर गदै बस्नेछे एक चरी,
त्यो ठडिएको चन्द्रसुर्यमा।

Sapath Thapaliya
074BCE145
Pulchowk Campus