अहिलेको समयसम्म नेपाल एक विकासको गति तिर लम्कँदै गरेको मुलुक हो। सामाजिक, आर्थिक अनि पूर्वाधारको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हावी बन्ने गरेको नेपाली राजनीति सबल हुन नसक्दा विभिन्न क्षेत्रबाट सिर्जित अनावश्यक भूमरीले विकासको गति सुस्त रहेको छ। विगत देखि नै पुस्तान्तरण भएर आएका र वर्तमानमा जन्मिएका अनेक समस्याहरुले गिजोलिएको हुनाले समस्या समाधानका उपाय केही क्षण र ५/७ वर्षमा सम्भव नहुन सक्छन्। त्यसको लागि हाम्रो निरन्तर पहल कदमी चाहिन्छ। नेपाली समाज धेरै नै विभाजित छ। पुरातनवादी समाज र सोचको साथै वर्तमानमा हुनेगरेका फरक विचार समूहको आफ्नो-आफ्नो प्रचारबाजीले हामिलाई विभाजन गरिरहेको छ। अबको केही समय यो प्रक्रिया चली नै रहने छ। फरक विचार राख्नु सधैँ सान्दर्भिक होला तर नेपाली समाजमा प्रयोग हुन सक्ने विकासको मोडेल धेरै हुन सक्दैनन्। विश्वमा प्रयोग भइरहेकै राजनीतिक व्यवस्था, प्रशासनिक व्यवस्था र अन्य संरचनात्मक व्यवस्थाको फरक फरक मोडेल प्रयोग हुने हुन। राजनीतिक सिद्धान्तहरू पनि त्यसैअनुरूपको छन्।
अहिलेका विद्यार्थीहरु नै भोलि फरक फरक विधाको विद्वान बन्ने हुन। फरक क्षेत्रको नेतृत्व गर्न सक्षम हुन वर्तमानमा आफूलाई निखार्दै भोलिको दिनमा आफू पालिन, आफ्नो परिवार पाल्न, आफ्नो इच्छा अनुसारको दैनिकी गुजार्न, आफ्नो उद्देश्य, चाहना, समयको माग, समाजको आवश्यकता अनुसारको प्रशासनिक, राजनीतिक लगायतका विभिन्न पेशा अपनाउने छन्। कतिपयको सोच होला, आफ्नो सर्वाङ्गीण विकासको लागि विदेश जाने र उतै व्यवसाय गरेर जीवन गुजार्ने। नेपालमा अवसर नदेखेर/नभेटेर या क्षमताको अवमूल्यन भएर विदेशिने नेपालीहरुको संख्या उलेख्य रहेको छ। नेपालमा सुधार गर्नुपर्ने के के छन्? कसरी सुधार गर्न सकिन्छ? नेपालमा सान्दर्भिक हुने विकासको मोडेल, राजनीतिक मोडेल, प्रशासनीक संरचना कस्तो कस्तो हुनु पर्छ, त्यो सबै हामीलाई थाहा छ। तर आफ्नो पसिना यही माटोमा बगाउन गर्नु पर्ने केही सम्झौताहरु गर्न मञ्जुर नहुँदा भनौँ वा देश भित्र त्यसको लागि उपयुक्त वातावरण नपाउँदा र विज्ञहरुको विषय विज्ञता अनुसारको कार्य विभाजन नगरी आफ्नो मान्छे खोज्ने सम्बन्धित सरोकारवालाहरुको व्यवहारले गर्दा अरू देशको विकासको महत्वपूर्ण हिस्सा नेपाली विज्ञहरु बनिरहेका छन्। सरकारी कर्मचारीहरुको तलब र भत्ता बढ्दो आवश्यकता अनि महँगी सँगै समायोजन भएर पर्याप्त हुन नसक्दा भ्रष्टाचार लगाएतका विकृतिहरू दिनानुदिन बढ्दै छन्। समाजबादको राजनीति गर्नेहरु सम्पन्न बन्दै गरेको अवस्था छ। नेपालका धनाढ्य भनिएकाहरु नै गरीब छन्, यसको मतलब वास्तविक रुपमा सर्वहारा वर्ग नरहेको भन्न सकिन्छ। सांस्कृतिक बहुलवादको सिद्धान्तबाट सिंचित नेपाली संस्कृति रहेको हुनाले कुनै एउटा जात, परम्परा र धर्म-संस्कृतिलाई प्रधान मानेर राज्यका नीति निर्माण गर्नुको पनि खासै सान्दर्भिकता रहँदैन।
अब परिवर्तनको एउटा मोडेल हेरौँ। एउटा व्यक्ति, परिवार, समाज लगायत पुरै देशको विकासको आधार भनेको शिक्षा हो। कुनै व्यक्तिले आर्जन गरेको शिक्षा उसको व्यवहारमा देखिनु पर्छ। शिक्षित व्यक्तिको व्यवहारमा देखिने परिवर्तन नै उसको शैक्षिक मापनको आधर मान्नु पर्छ न कि उसले हासिल गरेको अंक र श्रेणी। एउटा व्यक्तिले विद्यालयमा आर्जन गरेको ज्ञान अर्थात् सीप दैनिक जीवनमा उपयोग गरेर आफ्नो अनि आफूसँग आश्रित पारिवारिक सदस्यको गुजारा चल्ने साथै अरूको दैनिकीलाई सहजता प्रदान गर्ने किसिमको हुनु पर्छ। परिवर्तनको लागि शैक्षिक क्षेत्रमा कब्जा गरी त्यसलाई नेपाल अनि नेपाली समाज अनुकुलको बनाउन जरुरी हुन्छ। एउटा यस्तो समूह बनाउन जरुरी छ जसले हामीले चाहेको जस्तो देश बनाउन, देशको समग्र पक्षको विकास गर्ने मास्टर प्लान बनाउन सकोस्। हरेकको रुचिअनुसारको विधा जिम्मा दिने र त्यो विधामा हिजोको अवस्था, आजको विद्यमान परिस्थिति, यसको निरन्तरताले भोलि कुन ठाउँमा पुर्याउँछ, भोलिको आवश्यकता के हो र त्यहाँ सम्म पुग्न वर्तमानको के के कुराले कस्तो असर गरेको छ, अबको ५, १०, १५, २० वर्षमा के के कार्य कसरी कसरी गर्दा त्यो हामीले चाहेको सफलता सम्म पुग्न सकिन्छ भन्ने बृहत स्तरको योजना तथा कार्यक्रम बनाउने र ऐक्यवद्धताको साथ काम गर्नु पर्छ। त्यसको लागि विश्वका विकासको मोडेलहरु, राजनीतिक, सामाजिक, आर्थिक विकासको क्रममा भएका र भइरहेका प्रयासहरू, सम्भाव्य समस्या र आइपर्ने जटिलताहरू बटुलेर विस्तृत जानकारी राख्ने साथै अध्ययन गरी नेपालको परिवेशमा लागू गर्न सक्ने जनशक्ति आवश्यक पर्छ। हाम्रो शिक्षामा व्यावहारिकता ज्यादै न्यून रहेको हुनाले सम्पूर्ण देशव्यापी रुपमा यस्तो मोडेलहरु प्रयोग गर्न असम्भव प्रायः छ। त्यसैले एउटा यस्तो क्षेत्र, जसमा त्यो विज्ञहरुको समुहको बाहुल्यता होस्, को निर्माण गर्नु पर्छ। त्यो क्षेत्रलाई सम्पूर्ण रुपमा अलग गरेर त्यहाँ बसोबास गर्ने हरेक परिवारलाई त्यही क्षेत्रमा कुनै उद्योग कलकारखाना खोलेर उद्यमशील बनाउनु पर्छ। विद्यालय खोलेर कम्तीमा त्यो क्षेत्रका सबै बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिनु पर्छ। मानिसका आधारभूत आवश्यकता देखि लिएर स्वस्थ जीवनकालागि चाहिने विलासिता सम्मको उपलब्धता त्यसै क्षेत्र भित्र सुनिश्चितता गर्नु पर्छ। शून्य आयातको अवधारणा अपनाएर निर्याततर्फ केन्द्रित हुने गरी कृषि पशुपालन र उद्योग कलकरखानाको सन्दर्भमा क्रान्ति गर्नु पर्छ। त्यसपछि त्यो क्षेत्रबाट १०,२०,४० हुँदै सयौँको संख्यामा कृषक, शिक्षक, खेलाडी, राजनीतिज्ञ, कूटनीतिज्ञ, वैज्ञानिक लगायतको हरेक क्षेत्रमा दख्खल राख्ने दक्ष जनशक्ति उत्पादन हुने छन्। अनि तिनीहरूको परिचालनबाट यस्तो विकास र परिवर्तनको मोडेल देशको अरू क्षेत्रमा पनि विस्तार गर्नु पर्छ।
यो सबैको सार भनेको शिक्षा क्षेत्रमा कब्जा जमाउने र देश परिवेश अनुरुपको बनाउने, देश विकासको मोडेल अरू देशको अनुसरण गरेर होइन अध्ययन गरेर त्यसलाई हाम्रो देश सुहाउँदो मोडलमा रूपान्तरण गर्ने, शिक्षा, खेलकुद, राजनीति, प्रशासन लगायतको सम्पूर्ण क्षेत्रमा विषय विज्ञताको अनुसारमा जनशक्ति परिचालित हुने, हरेक क्षेत्रका विज्ञहरु र कुनै न कुनै रुपमा अमूल्य योगदान दिने हरेकलाई पर्याप्त सेवासुविधाको सुनिश्चितता गर्ने र हरेक नेपालीलाई आफ्नो जीवनको उत्पादनशील समय मध्यको १०/२० वर्ष वा केही अंश भए पनि नेपालको लागि काम गर्न प्रेरित गर्ने योजनाहरू बनाएर लागू गर्नु पर्ने हुन्छ।
अन्ततः हामीले यस्ता अनेक योजना र कार्यक्रमहरु बनाएको हुन्छौँ अनि त्यसलाई लागू गर्न केही समय लाग्छ। त्यो लागू गर्दै गर्दा प्रतिबद्धताहरु विचलित भएर केही स्वार्थी विचारहरू हावी हुन सक्छन्। त्यो हुन नदिन हामीले बनाएको दीर्घकालीन योजना, नीति तथा कार्यक्रमहरु लागू गर्न एउटा कुशल तानाशाहको अवधारणा ल्याउन सकिन्छ जसमा हामी आँफैले बनाएका योजना, कार्यक्रम तथा नियम विपरीतका कार्यहरु गर्न बन्देज हुन्छ। आजको हाम्रो कमजोरी भोलिको वास्तविकता बनेर हामीलाई नै गिज्ज्याई रहँदा पक्कै पनि हामीलाई राम्रो लाग्दैनन् । त्यसैले समयमै दूरगामी सोच लिएर त्यसैअनुसार आफूलाई झुकाउँदै लैजानु आवश्यक देखिन्छ।
4