Sashi Adhikari
काहीँ नभएको जात्रा हाँडगाउँमा। संसारमै कहीँ नभएको चालचलन र संस्कृति चाहिँ नेपालमा नै होला। साँच्चै नेपाली संस्कृति अचम्मै को छ। घाँटीमा छोएसी किन फु गर्नु परेको होला? बिरालोले बाटो काट्दा कसरी साईत नपर्ने होला? खुर्सानी हातमा दिँदा कसरी झगडा पर्छ होला? उल्टो चप्पल देख्ना साथ किन सिधा पार्नु पर्ने होला? साँच्चै नै यी प्रश्नहरू सुर्के थैली खै? र विर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो? भन्दा पनि जटील र रहस्यमय प्रश्न हुन। “Top unanswered questions” को सूचीको सुरु मैं यी प्रश्न हरु राख्दा फरक नपर्ला।
साच्चै यी चलन हरु कसरी आए र किन पालाना भइरहेका छन्? यसलाई एउटा रहस्य नै भन्नु पर्ला। कुनै कारण र तर्क नभेट्दा पनि हामी यसको पालना गरिरहेकै छौं। उल्टो चप्पल सुल्टो नबनाए, घाँटीमा छोएसि फु नगरे त मन नै कस्तो खल्लो खिन्न भइदिन्छ – नुन नपुग्या तरकारी जस्तो। यी चलनहरु हाम्रो जीवनशैलिको अभिन्न अंग बनेका छन्।
नेपाली चालचलनहरुले नेपालीको आचरण र जीवनशैलीमा असर पारेको छ। हाम्रो नेपालको इतिहास निकै नै लामो छ। इतिहास सँगसँगै संस्कृति र संस्कार पनि धेरै पुराना छन। समय सँगसँगै संस्कृति र संस्कृतिको मूल भाव पनि परिवर्तन हुँदै आएको छ । समय बित्दै जाँदा हाम्रो मूल्यमान्यता र संस्कृति हाम्रो जीवनचर्यामा मिश्रित भएको छ। ऊ बेलाको संस्कृति र मान्यता अहिले संस्कृति भन्दा पनि जीवनशैलीको रूपमा देखा परेका छन्। अहिले थुप्रै संस्कृतीहरुको मूल अर्थ र मर्म नबुझी प्रतक्ष्य वा अप्रत्यक्ष रुपमा हामी त्यसको पालना गरिरहेका हुन्छौं।
संस्कृति परम्पराबाट स्थापित,निर्मित तथा वर्तमानमा थप सिर्जित र परिमार्जित भई हस्तान्तरित हुँदै आएको जीवनशैली, सोच शैली , संस्कार, आचार, मूल्यमान्यता र विश्वास हो। लामो र गौरवशाली इतिहास बोकेको नेपालको संस्कृति परापूर्व काल देखि सिर्जित हुँदै र समय समयमा परिमार्जित हुँदै हाम्रो। जीवनशैलीमा मिश्रित हुँदै आएको छ। सुरुमा मैले भने झै नेपाली संस्कृति संसारमै कहीँ नभएको अनौठो र अचम्मको छ। नेपाली संस्कृति आफैमा अद्वितीय छ।
मैले खाना खानु अघि बाले औंसेनी हालेको सानै देखि देखेको हो। बाले यो के गरेको होला? एक सिता भात पनि फाल्नु हुँदैन हैं भन्दै हामीलाई सिकाउने बाले किन एसरी एक गाँस भात फालेको होला? यी प्रश्नहरूले मेरो मनमा कौतुहलता जगाउने गर्थ्यो र म कहिले काहीँ सोध्थे पनि- ” बा यो के गरेको?”
“देउता लाई चढाको” बा भन्नुहुन्थ्यो। खै कस्ता देउता होलान् एकै गाँसमा अघाउने, फेरि कहिले खान आएको पनि देखेको छैन, म सोच्द थिएँ।
अहिले बुझ्दै जाँदा त्यसरी औसनी हाल्ने चलन त निकै तार्किक जस्तो पो लाग्न थाल्यो। औसनि हाल्दा पानी छर्केको त वरपर को धूलो मार्नलाई पो रहेछ ताकि धूलो उडेर खानामा नपरोस्। थोरै खाना भुईमा राखेको का देउतालाई होला त, त्यो त किरा झिँगाको लागि रहेछ ताकि उनीहरू भुई कै खाना खाऊन् र थालमा नआउन। हेर्नुहोस् त यसरी तर्क र विज्ञान लुकेको कतिपय संस्कृतिले त आफ्नो मूल भाव सर्लक्कै गुमाएको पो रहेछ। कति मजाले ती चालचलन हाम्रो जीवनशैलीमा मिश्रित भएको रहेछ अनि हामी चाहिँ आँखा चिम्लिएर मूल भाव नबुझी लहै लहैमा त्यसको पालना गरिरहेका रहेछौ – बिरालो बाँधेर सराद गरेको कथामा जस्तै। हाम्रो लापरवाही हो या समयको प्रभाव, हाम्रो धेरै तार्किक र वैज्ञानिक कारण बोकेका संस्कृतिले आफ्नो मुलभाब गुमाएर लोप हुँदै छ र कत्ति तर्कहिन कुरा संस्कृति बनेर बसेको छ।
जे होस्, नेपाली संस्कृतिले जीवनका हरेक पक्षलाई उत्तिकै न्याय भने गरेको छ। हाम्रो संस्कृतिले भौतिकवादलाई मात्र नभई आध्यात्मवादलाई पनि महत्व दिएको छ। नेपाली संस्कृतिले भौतिक सुख समृद्धि मात्र नभई मानसिक र आध्या्मिक आनन्द र सन्तुष्टिलाई पनि उत्तिकै प्राथमिकता दिएको पाइन्छ।
मनुष्य केवल भौतिक उन्नतिमा मात्र खुसी हुँदैनन्। भौतिक उन्नतीबाट शरीरको तृष्णा र भोक त मेटिएला तर आत्मिक र मानसिक सन्तुष्टी भने मिल्दैन। त्यस अतृप्तीलाई हटाउँनको निमित्त हाम्रा पुर्खाले जे जस्ता खोज, बिकाश र उन्नति गरे, ती खोज नै हस्तान्तरण हुँदै नेपाली संस्कृतिको बिकाश भएको हो। त्यसैले त केही नेपाली संस्कृति हरु भौतिक सुख सुविधाको लागि पालना भएको जस्तो देखिन्छन् त केही आत्मीक र मानसिक सुखका लागि। दैनिक नित्य कर्म गर्नु, पूजा आजा गर्नु, शुभकार्य गर्नु अघि भगवानको स्मरण गर्नु, वर्त बस्नु आदि संस्कार मानसिक सन्तुष्टिका लागि पालना गरिरहेका छौं। अघि उदाहरण दिएको औसनि हाल्ने चलन भने त्यसको मूलभाव अनुसार भौतिक सुविधाको लागि गरिएको हुनुपर्दछ।
नेपाली संस्कृतिको पृष्ठभूमि नै धर्म र आध्यात्मक रहेको छ। कसैले धर्मको विरोध गरे, कसैले धर्मको पक्षपात गरे तर गर्न चाहिँ धर्मकै वरिपरि रहेर संस्कृतिको विकास गरे। धर्मले मनुष्यको जीवनलाई सुख, शान्ति र समृद्धि भर्ने काम गर्छ । त्यहीँ भएर हाम्रो संस्कृतिले पनि कसरी जीवनलाई सरल, सुखी, सन्तुष्ट र समृद्ध राख्न सकिन्छ भन्ने कुरामा जोड दिएको छ। हाम्रो सँस्कृतिले दैनिक जीवनमा गरिने अभ्यास बाहेक पनि अरु सँग कसरी मिलेर बस्ने, समाजलाई कसरी अघि बढाउने, आफ्नो मात्र नभई लोकको खुसीको लागि काम गर्ने, समाज सँग कसरी मिलेर बस्ने र जीवनलाई कसरी खुसी र सुखमय बनाउने भन्ने कुरामा जोड दिएको छ। यसै गरी हाम्रो संस्कृतिले मानिसलाई चाहिने रमाइलो, सामाजिकता, एकान्त, जपतप, ध्यान, कर्म , चाडपर्व सबैको ज्ञान दिएको छ। नेपालका हरेक पर्व र चाड पनि अध्यात्म र भौतिक दुवै सुख सँग जोडिएका छन्। चाडपर्वले उमङ्ग र खुसी त ल्याउँछ नै तर हामी भित्र रहेको बोध लाई पनि जगाउँछ, भौतिक खुसी त दिन्छ नै साथै हरेक पर्व पछाडि आध्यात्मिक पृष्ठभूमि पनि जोडिएको हुँदा आत्मिक आनन्द पनि दिलाउँदछ।
यी सबै कुरा हुँदा हुँदै पनि हामी कहाँ बिकृति पनि थुप्रै छन्। हामीले मान्ने कतिपय संस्कृति विभेदी छन् भनेर भनिन्छ । लैगिंक विभेद, जातीय बिभेद, छाउपडी, दाइजो, छुवाछुत जस्ता थुप्रै थुप्रै बिकृति हरुले जरो गाडेर बसेको छ। तर बुझ्नु पर्ने कुरा के हो भने कुनै पनि कुराको प्रादुर्भाव त्यसबेलाको समय परिस्थितिअनुसार भएको हुन्छ । कालान्तरमा ती परिवर्तन हुँदै जान्छन् । तर कुनै पनि संस्कृति ले जात लिंग छुट्ट्याएर विभेद गर भनेको पक्कै पनि छैन । पछि परम्परा मान्दै जाँदा एकले अर्कालाई होच्याउने प्रवृत्ति बढ्दै गएको हो । त्यसकारण बुझ्नुपर्ने कुरा के हो भने संस्कृतिले विभेद गराएको हैन, केही कर्मकाण्डीले विभेद सिर्जना गरेका हुन् । अब हामीले यी विकृतीलाई उन्मूलन गर्नु पर्दछ। संस्कृतिका राम्रा पक्ष अँगाल्ने र नराम्रा पक्षलाई हटाउँदै लैजानुपर्छ ।