-समीप पाैडेल (074BCT533) (पुल्चोक क्याम्पस)
"म यी अक्षरको आवाज हूॅ,
अक्षर, क्रान्तिको निम्ति बिरोधको स्वर बन्छ,
स्वर, परिवर्तनको निम्ति सडकको टायर बन्छ,
टायर, मुक्तिको निम्ति डढेको खरानी बन्छ,
खरानी, विकासको निम्ति तातो अलकत्रा बन्छ,
म यी सबैको प्रतिबिम्ब हूॅ!"
"म अक्षरको निम्ति क्यान्भास हूॅ,
क्यान्भास, बिरोध हैन सुशासनको आधार बन्छ,
आधार, टायरको निम्ति सुकिलो फ्रेम बन्छ,
फ्रेम, शान्तिको निम्ति स्वयम्भूको पर्खाल बन्छ,
पर्खाल, शिरको निम्ति उच्च धरहरा बन्छ,
तॅ होलास् क्रान्तिको मसिहा,
म शान्तीको अग्रदुत हूॅ!"
"के तेरो शान्तीको भजन
आफ्नो झुठो प्रचार त हैन?
जिब्रोलाई अन्धकारमा लुकाएर
देखिएको दाँतलाई शान्ती भन्छस्?
दराजको एउटा कुनामा धनको भण्डार लुकाएर
खनाइएको चन्द श्वेत असर्फिलाई समृद्धि भन्छस्?
रातमा कुधन्दाको रुमाल ओढेर
दिनमा सुकिला दौरा सुरुवाल लगाउनुलाई सुख भन्छ्स्?
स्वाभिमानरूपी केशको आहुती दिएर
आत्मसमर्पणको झन्डा लहराउनुलाई जित भन्छस्?"
"पख् न हे पख्,
अझ शान्तीको उदय हुनै बाकी छ,
ओठ खुलेर खुशी दाँतको आकृति
जिब्रोमा पर्नै बाकी छ।
दराजको कालो धनलाई श्वेत रङ्याएर
अपराधीलाई कालो मोसो दल्नै बाकी छ।
कुधन्दाको रुमाललाई कानुनरूपी बल
प्रयोग गरेर सेताम्मे बनाउनै बाकी छ।
तेरो हारको आत्मसमर्पणमाथि मेरो जीतको
झन्डा फरफराउन नै बाकी छ।"
"तेरो उपस्थितिलाई शान्तीको रूप नदे,
भ्रमरूपी स्वेतबीज नछर्,
मेरो कुप्रचारको सहयोगमा आफ्नो सिंहासन नसजा,
कुकर्मलाई कालो रङ्ग नरङ्ग्या,
तँ रङ्गको एउटा छेउमा, म अर्को छेउमा,
हामी दुबै प्रकृतिको काखमा,
नभुल्, स्वाभिमानमा उठेको शिरको केश कालो,
अन्यायको विरुद्ध अडिग रहने कानुनदेविको रङ कालो,
क्रान्तिको निम्ति चलेको हरेक कलमको मसि कालो,
भर्खरै जन्मेको बालकको आशारूपी आखाको नानी कालो,
मसि कालो हो, तर नराम्रो हैन
अर्काको अस्मितामाथी लागेको आखा नराम्रो हो तर कालो हैन
कुनै कालो नराम्रो होला, तर नराम्रो कालो हैन,
आइज तँ र म मिलेर एक अर्काको पूरक बनम्,
तँ ममा आफ्नो रङ्ग भर्,
म तँमा आफ्नो रङ्ग भर्छु,
तँ खुला आकाशमुनि पहरा दे,
म अँध्यारो कोठामा लठ्ठी चलाउछु,
तँ सेतो झन्डा उच्च बनाइराख्,
म कुकर्मलाई कालो झन्डा देखाउछु
तँ दिनमा नारीको रक्षा गर्,
म रातमा पापीको अाँखा सिलाउछु ।"
समीप पाैडेल
074BCT533
पुल्चोक क्याम्पस
Post Views: 7,398