CESS-Nepal

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय जहाँ विश्वको अनेकौँ देशका नागरिक विद्यार्थी बन्न सक्छन् अनि यहाँका विद्यार्थी विश्वका अनेकौँ मुलुकको हरेक पक्षका समस्या, आवश्यकता, चुनौतीको सामना गर्ने हैसियतको ओहोदामा पुग्छन्, पुगिरहेको छन्। प्रभाव भन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा परेको असर; अवसरभन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा कुनै काम कुरो गर्न सिर्जना भएको  मिल्दोजुल्दो अवस्था, मौका, अनुकूल समय; चुनौती भन्नाले कोभिडको कारणले विश्वविद्यालयले सामना गर्नु परेको र गर्न पर्ने सम्भावित समस्याहरू र ती समस्या संग जुध्न गर्नुपरेको संघर्षलाई बुझ्न सकिन्छ ।

शिक्षा भन्ने बित्तिकै विद्यार्थी, शिक्षक र विद्यालय बिचको सन्तुलित अनि समष्टिगत रूप भनेर बुझ्न सकिन्छ। शिक्षक र विद्यार्थीले कुनै समुदायको प्रतिनिधित्व गर्छन् भने विश्वविद्यालयले समग्र राष्ट्रकै चिनारी दिने गर्छ। यसर्थ विश्वविद्यालय शिक्षामा आउने हलचलले समग्र देशकै शैक्षिक, धार्मिक, सामाजिक तथा आर्थिक, राजनैतिक र प्रशासनीक लगायतका सदैव चलायमन रहिरहनु पर्ने क्षेत्रमा समेत  गहिरो तरङ्ग फैलाउँछ भने त्यी क्षेत्रमा फैलने तरंगको सामु विश्वविद्यालयले पनि डुबुल्की मार्नै पर्छ।

आफ्नै लयमा हिँडिरहेको विश्वविद्यालय शिक्षा अकास्मात देखिएको कोभिडको कारणले केही समय सम्म त घायल नै बन्यो। सामाजिक दूरी कायम गर्नु एक प्रभावकारी संक्रमण फैलावट लाई कम गर्ने उपाय भएकोले विद्यालयहरू एक्कासी बन्द गर्नु पर्यो। अत्याधिक मनोवैज्ञानिक त्रास छोटो समयमा देखा पर्यो भने भाइरस बारेको अनविज्ञताले गर्दा कति खतरनाक हो भन्ने बुझ्न केही समय लाग्यो। निश्चित स्रोत र साधान भएको शैक्षिक क्षेत्र केही गर्न सक्ने अवस्थामा रहेन। यस्तो महामारीको विपदमा विद्यार्थीहरू पनि विद्यालय गएर अध्ययन गर्ने पक्षमा रहेनन्,। वैकल्पिक शिक्षण प्रविधिको प्रयोग शून्य भएको हुनाले धेरै जसो विश्वविद्यालयहरु पूर्णत: बन्द रहे। चलिरहेका र अन्तिम तयारी सकिएका परिक्षा स्थगित भए। विद्यार्थीले कुनै तहको पढाइ पूरा गर्न लाग्ने भन्दा धेरै समय लाग्ने भयो। यसले देशको अमूल्य जनशक्ती, देश विकाशको आधार, समाजलाई हरेक क्षेत्रमा प्रत्येक पलमा नेतृत्व प्रदान गर्न सक्ने योग्य उलेख्य संख्याको विद्यार्थी वर्ग बजारमा आउन पाएन, सकेन। फलस्वरूप देशले दक्ष, तालिम प्राप्त, योग्य जनशक्ती गुमायो, समाजले आफ्नो नेतृत्व गुमायो, परिवारले थप आर्थिक चपेटा अनि मनोवैज्ञानिक त्रासको भार बोक्नु पर्यो भने विद्यार्थी स्वयमले आत्मनिर्भर बन्ने उपलब्धिमूलक वर्षको आफ्नो मूल्यवान समय गुमायो जसको प्रत्यक्ष र अप्रत्यक्ष असर केही दशक सम्म झेल्नु पर्ने कुरा अवस्यम्भावी छ। विद्यार्थी वर्ग अनि उसको परिवारले व्यहोर्नु परेको स्वस्थ समस्या, जटिलता, आर्थिक तथा मानविय क्षतिको हिसाब किताब गर्ने हो भने त कल्पना गर्न नसकिने अवस्था छ।

अर्को तिर केही विकसित मुलुकका प्रविधिले सम्पन्न विश्वविद्यालय तुलनात्मक रुपमा छोटो समयको लागि बन्द रहे। आफ्नो परिवार मिलन र सहानुभूति साटासाट गर्न विश्वको अनेक विश्वविद्यालयका विद्यार्थी आफ्नो देश, आफ्नो घर फर्किएको अवस्था रहेको र प्रायः सबै देशले बाह्य उडानमा प्रतिबन्ध लगाएको कारणले उनीहरू तत्काल सुचारु गरिएको शिक्षा लिन समर्थ थिएनन्। जसको कारण लाखौँ विद्यार्थी शिक्षा बाट वञ्चित हुनु पर्यो। प्रकाशित तथ्याङ्क हेर्दा अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको ३३.७ % चिनियाँ र १८.४ % भारतीय विद्यार्थीहरू रहेको अवस्थामा अमेरिकी विश्वविद्यालय सुचारु हुँदा ८३० चिनियाँ विद्यार्थीले आफ्नो पढाइ छोडेको कुरा IIE को तथ्याङ्कमा छ। अप्रकाशित तर देखेको र महशुस गर्न सकिने हजारौँको तथ्याङ्क हामी माझ छ जहाँ धेरै विद्यार्थी शिक्षा बाट वञ्चित भएका छन्।

समस्या तबसम्म रहि रहन्छ जबसम्म त्यसको समाधान भेटिँदैन। विद्यमान प्रणालीको औचित्य तब सम्म हुन्छ जब यो उपयोगी हुन्छ र अर्को सुदृढ, समुन्नत र मजबूत वैकल्पिक प्रणाली भेटिँदैन। हो, विश्वविद्यालयको समकालीन यथार्थता पनि यस्तै रह्यो। आमुन्ने सामुन्ने भएर सञ्चालन हुने कक्षाहरू अनलाइन माध्यममा रूपान्तरण भए। सेतोपाटी, मार्करको उपयोग हुने शिक्षण विधिलाई कम्प्युटर र अरू डिजिटल सामग्रीले विस्थापान गर्ने अवस्था आयो।

विश्वका धेरै विश्वविद्यालयमा प्रथम श्रेणीका अनुभवी प्राध्यापक अथवा कुनै ऊर्जावान शिक्षकले पढाएको सामग्री सहजै उपलब्ध हुने वातावरण बन्यो। एउटा विद्यार्थीले कुनै एउटा विश्ववद्यालय र त्यहाँको शिक्षकहरूमा मात्रै पूर्ण निर्भर रहनुपर्ने बाध्यता टर्यो। कुन विश्वविद्यालयमा कुन पाठ्य सामग्रीहरु कसरी प्रयोग भइरहेको छन, के कस्तो स्तरमा पढाइ हुन्छ भन्ने कुरा सबैको सामु छर्लङ्ग भएको छ। भनौँ सबैजसो विश्वविद्यालय विश्वभरका विद्यार्थीको लागि खुला किताब जस्तै बनेको अवस्था रह्यो। हरेक विद्यार्थीले चाहेको विषयवस्तु सम्बन्धित विषयको विज्ञबाट सिक्न सक्ने सुनौलो अवसर कोभिडले जुटाइदियो। Zoom, Microsoft Teams, Google Meet, Go-To Meeting जस्ता अनलाइन मीटिंग app को प्रयोग तिव्र बन्यो भने यसको उत्पादक र सञ्चालक कम्पनीहरुमा ठुलो रोजगारी सिर्जना भयो। शिक्षण कर्मीले यातायातको साधनमा खर्चनु पर्ने समय वचत भयो। सामाजिक भेटघाट र अनावश्यक मनोरञ्जनात्मक क्रियाकलाप शून्य बने जसले एउटा विद्यार्थीले सामान्य भन्दा धेरै समय पायो जुन समय आफ्नो व्यक्तित्व विकासको अनि रुचिको अनेक क्षेत्रमा उपयोग गर्न सक्ने अवस्था रह्यो। आफूले गरेको कार्यको पुनरावलोकन गर्ने समय मिल्यो, इन्टरनेटको उपयोगले सिकाइ सरल, सहज र छरितो बन्यो, सवारी साधन र कलकारखाना ठप्प हुनाले सिकाईको लागि अनुकूल हुने  स्वच्छ, कम प्रदूषित वातावरण बन्यो। अर्कोतिर इन्टरनेटको उपलब्धता न्यून रहेको देशको कुनाकाप्चामा रहेका बस्तिलाई प्रतिनिधित्व गर्ने, कमजोर आयश्रोत भएको परिवारबाट अधिक मेहनत गरेर विश्वविद्यालय स्तरको पढाई गरिरहेका अत्याधिक ठूलो संख्याका विद्यार्थीहरूको लागि भने यो डिजिटल शिक्षा “आकाशको फल आँखा तरी मर” जस्तै भयो। शिक्षाको पहुँचमा असमानता आयो भने पढाइ छोड्न बाध्य हुने विद्यार्थीको संख्या धेरै देखियो। शिक्षक र विद्यार्थीको बिचमा अन्तरक्रियात्मक शिक्षण सिकई हुन नसकेकोले शैक्षिक गुणस्तर कस्तो रह्यो भन्ने प्रश्न त जहिले पन रहने नै भयो।

कोभीडले विश्वविद्यालयमा विद्यमान रहेका कमजोरी, श्रोत साधन र सुविधाको अपर्याप्तताको पर्दा खोलिदियो। आधुनिक प्रविधिको उपयोगले चुस्तदुरस्त प्रणालीको विकास भयो। केही प्रयोगात्मक विषयलाई छोड्ने हो भने अनलाइन प्रविधिमा हुने सिकाईको आयतन भौतिक उपस्थितिमा हुने सिकाईको तुलनामा धेरै हुन्छ, यसले विद्यार्थीले आर्जन गर्ने शिक्षाको दायरा फराकिलो बन्यो। शिक्षक एबम् विद्यार्थीलाई सूचना र सञ्चारको नयाँ प्रविधिसँग घुलमिल हुन सिकायो, सिकाईको नयाँ प्रणाली प्रयोग गर्न प्रेरणा मिल्यो। यसले शिक्षक विद्यार्थीलाई आधुनिक विश्वमा विकास र प्रयोग भएका प्रविधिसँग साक्षात्कार गराइदियो, शिक्षण सिकाईको क्षेत्र र विधिमा भएको नयाँ प्रयोगले विद्यार्थीको  सहभागिता उल्लेख्य भयो भने विश्वविद्यालय शिक्षामा दूरगामी र प्रभावकारी परिवर्तन गर्ने वातावरण बन्यो।

विश्वको द्रुत गतिमा परिवर्तन भइरहेको शिक्षा क्षेत्रमा समायोजन हुन डिजिटल प्रविधि उपयोग गर्न सक्ने तालिम प्राप्त शिक्षक एबम् शिक्षण प्रणाली आवश्यक देखिन्छ। शिक्षा क्षेत्रमा प्रयोग नभएका अथवा गलत तरिकाले प्रयोग भएका विधिहरू, रणनीतिहरु तत्काल बदल्नुपर्ने छ। नयाँ र दूरगामी प्रविधिको विकास र प्रयोग गर्न अभ्यस्त बनेर विश्वविद्यालय शिक्षालाई आगामी दिनमा दोहोरिन सक्ने यस्ता प्रतिकूल परिस्थिले छुन चलाउन नसक्ने अवस्थामा पुर्याउनु पर्ने छ। महामारी पछिको विद्यार्थीको ज्ञान आर्जन सुनिश्चितता साथै नतिजामुखी सिकाई र शैक्षिक स्तरीयता कायम राख्दै शिक्षण सिकाई र मूल्याङ्कनको अन्य वैकल्पिक विधिहरू खोजी गर्नु पर्ने छ भने यसलाई भोलिको दिनमा सरल तवरबाट सहजै लागू गर्न सक्ने गरी चुस्तदुरुस्त अवस्थामा राख्नु जरुरी छ। विद्यार्थीको कमजोर बनेको मनोबल र मानसिक स्वास्थ्यलाई सुधार गर्न, हरेक विद्यार्थी, परिवार, समाज र देशले यो कोभिडको अवधिमा झेल्नुपरेको घाटा र समस्यालाई सम्बोधन गर्न विश्वविद्यालयको तहबाट प्रभावकारी कदम चाल्नु पर्ने छ।

 

 

0
CESS Chat Service 
Only logged in users are allowed to enter the chat

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More To Explore